त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै


७ चैत्र २०७८, सोमबार


काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै छ ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छन् । नेपाल पछिल्लो खेलमा युएईसँग नै पराजित भएको थियो भने त्यसपछि युएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि युएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

पछिल्लो समय युएई लयमा देखिएको छ । एक महिनाअघि टी–२० विश्वकप छनोट र त्यसअघिको टी–२० सिरिजमा पनि नेपाल युएईसँग पराजित भएको थियो ।

एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई युएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।

नेपाल र युएईबिच अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस