राजविराज । नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदै छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन् ।
सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।
शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्द किशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुस्लिम र राम सुन्दर मण्डलको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबिच दुवै उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।