काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप तीन जनाको मृत्यु भएको छ ।
पोखराको फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका-१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२:१५ बजे मृत्यु भएको हो । उनमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरि उपचारको क्रममा मृत्यु भएको प्रबक्ता डा शर्माले बताए ।
त्यस्तैगरी पोखरा महानगरपालिका-११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको डा.शर्माले बताए । ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा.शर्माले बताए । उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।