काठमाडौँ । इरानका एक शीर्ष परमाणु वैज्ञानिकको हत्या गरिएको छ । शुक्रबार एम्बुस आक्रमण गरी शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेशको हत्या गरिएको इरानी रक्षामन्त्रालयले जानकारी दिएको छ ।
इरानको राजधानी तेहराननजिक अबसार्ड शहरमा एम्बुस आक्रमणमा परी गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको र उनको उपचारका क्रममै मृत्यु भएको इरानी रक्षा मन्त्रालयले जनाएको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले फखरीजाहेदको हत्याको निन्दा गरेका छन् । उनले उक्त घटनालाई ‘राज्यप्रायोजित’को संज्ञासमेत दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन,‘आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिककको हत्या गरका छन् ।’
Terrorists murdered an eminent Iranian scientist today. This cowardice—with serious indications of Israeli role—shows desperate warmongering of perpetrators
Iran calls on int'l community—and especially EU—to end their shameful double standards & condemn this act of state terror.
— Javad Zarif (@JZarif) November 27, 2020
मोहसिन फखरीजादेह इरानका प्रमुख परमाणु वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए । सन् २०१५ मा न्युयोर्क टाइम्सले फखरीजादेहको तुलना रोबर्ट ओपनहाइमरसँग तुलना गरेको थियो । ओपनहाइमर म्यानहट्टन परियोजनाका अगुवा थिए जसले दोस्रो विश्वयुद्धका बेला पहिलो परमाणु बम बनाएका थिए ।
पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको हत्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् ।
सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।
इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इरानले आफ्ना वैज्ञानिकको हत्याको बदला लिइछाड्ने बताएको छ । आईआरजीसीका मेजर जनरल हुसेन सलामीले भनेका छन्,‘परमाणु वैज्ञानिकको हत्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्न रोक्ने प्रयास गरिएको छ ।’
अमेरिकी खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स (सीआईए) का पूर्वप्रमुख जोन ब्रेनानले इरानी वैज्ञानिक फखरीजादेहको हत्यालाई ‘अत्यधिक लापर्बाहीपूर्वक गरिएको आपराधिक कृत्य’को संज्ञा दिएका छन् । यस घटनाले घातक प्रतिशोध र क्षेत्रीय संघर्षको नयाँ दौर निम्तिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
उनले इरानी नेताहरुलाई वैश्विक मञ्चमा जिम्मेदार अमेरिकी नेतृत्वको पुनरागमनलाई पर्खन आग्रह गर्दै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।