काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।
अध्यक्षद्वयले अन्य नेताहरूसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरूले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । ‘पार्टीको समस्या समाधानका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्ने पाउँदैनन् भन्ने होइन तर कार्यदललाई अझै उत्साहित ढङ्गले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मत पनि थियो । आजको बैठकले अध्यक्षद्वयको पहललाई सकारात्मक रूपमा लिँदै बैठकले कार्यदल गठनलाई अनुमोदन गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
प्रवक्ता श्रेष्ठले बैठकले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवेदन पेस गर्ने आशा व्यक्त गरे । उनले कार्यदलका लागि समयसीमा नतोकिएको पनि जानकारी दिए । नेता श्रेष्ठले अब कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवेदनको प्रतीक्षा रहेको जिकिर गरे । ‘प्रधानमन्त्री ओलीले भनेजस्तै समयमा नै पहलकदमी भएको छ,’ उनले भने ।