काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको सुनवसी-८ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्रममा उनको निधन भएको हो ।
यस्तै पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।
साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।