काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरी पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका हुन् ।
उनलाई डिल्लीबजार कारागार प्रशासनले बिहीबार जेलमुक्त गरेको हो ।
सम्बन्धित समाचार : सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुँदै
श्रीमती हत्यको मुद्दामा सजाय भोगीरहेका कोइरालाको सर्वोच्च अदालतले १५ असारमा सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।
यस अघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ प्रधानन्यायाधीश जबराको इजलासले खुलाएको छ । श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्ने भन्दै सजाय घटाइएको खुलेको छ ।
२०६८ सालमा तत्कालीन डीआईजी कोइराला नेश्नल डिफेन्स कोर्सका लागि चीनमा थिए । विदामा काठमाडौं आएका बेला २७ पुस २०६८ मा पत्नी गीताको हत्या गरेका थिए । हत्यापछि श्रीमतीको शव सशस्त्र प्रहरी बलको बा८च ५४०८ नम्बरको गाडी प्रयोग गरेर मकवानपुरको पालुङ पुर्याएर जलाएका थिए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा ८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।