लम्की । विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणमा टीकापुर नगरपालिकाले स्थानीय स्रोतको परिचालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । सरोकारवालाले विपद्को जोखिमबाट बच्न व्यवस्थित, दीर्घकालीन योजना बनाएर विकाससँगै पर्यटन र समृद्धिको लागि काम गर्नुपर्ने माग गरेका छन् ।
जनतासँग मेयर–उपमेयर कार्यक्रममा स्थानीयले विपद्को सामना गर्न स्थानीयस्तरमा रहेका स्रोतको परिचालन गर्न नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने माग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति जगदीश्वर पण्डितले विपद्का बेला आइपर्ने समस्याको सामना गर्न नगरपालिकाको विपद् व्यवस्थापन कोषको रकम सदुपयोग गर्नुपर्ने बताए । “नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषको रकम स्थानीय स्रोत प्रयोगमा खर्चिनुपर्छ”, पण्डितले भने, “स्थानीयस्तरमा नागरिकलाई विपद्को पूर्वतयारीमा रहनका लागि तालिम दिने, सुरक्षित रहने उपाय र उद्धारका लागि सिकाउन आवश्यक छ ।” विपद्को बेला दैनिक उपभोग्य सामानको अभाव हुने, महँगोमा किन्नुपर्र्ने र अभाव हुने समस्या झेल्नुपरेकाले नगरपालिकालाई आवश्यक सामग्री खरिद गरी भण्डारण गर्न पण्डितले सुझाव दिए ।
कैलालीको टीकापुर क्षेत्र हरेक वर्ष बाढीका कारण डुबान र कटानमा पर्छ । बर्सात शुरु भएपछि यहाँका नागरिकमा बाढीको त्रास शुरु भइसकेको छ । कैलालीको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि सयौँ बिघा जमीन बाढीले कटान गर्दछ भने सयौँ परिवारको बाढी आएमा सडकमा बास हुने गर्दछ । यस वर्ष टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले चैतदेखि नै कटान शुरु गरेको छ । नदीले ३०० मिटर बढी बस्ती कटान गरिसकेको छ । “नदीले जमीन कटान बढाएको छ । नदी कटान यस्तै रहे यस वर्ष बस्ती डुबान हुने डर छ”, स्थानीय झपट बुढाले भने, “स्थानीय पालिकाले दीर्घकालीनसँगै स्थानीय बासिन्दालाई स्थानीयस्तरमै पाइने स्रोत प्रयोग गरी बाढीबाट बच्न तयार गर्नुपर्छ ।” उनका अनुसार बाढी आइहाले उद्धार तथा राहतका लागि सोही ठाउँका नागरिकलाई सक्षम बनाउन आवश्यक छ । सामुदायिक वन उपभोक्ता महासङ्घका नगर अध्यक्ष श्याम खत्रीले सामुदायिक वनलाई विपद्को बेला मानवीयहितमा सदुपयोग गर्न आग्रह गरे ।
डल्फिन संरक्षण केन्द्र बैदीका अध्यक्ष भोजराज ढुङ्गानाले विपद्को सामाना र विकासका लागि पर्यापर्यटनको विकासमा जोड दिनुपर्ने बताए । “वातावरण संरक्षण नहुँदा पनि विपद्को सामना गर्नुपरेको छ”, ढुङ्गानाले भने, “वातावरण संरक्षणका लागि टीकापुर नगरपालिकाले जलचर, थलचर प्राणीको संरक्षणमा जोड दिनुपर्छ । नगरकै योजनामा पर्यटकीय क्षेत्र विकासका लागि सीपलाई उपयोगितामा बदल्नतर्फ ध्यान दिनुपर्छ ।”
विपद् व्यवस्थापन समितिका संयोजक तथा टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरीले विपद् व्यवस्थापन कोषको रकम अहिले कोरोना नियन्त्रणमा केन्द्रित भएको बताए । उनले विपद्को प्रकृतिअनुसार पीडितलाई राहत उपलब्ध गराउने कार्य, जोखिमको आँकलन, जोखिम भएका ठाउँमा उद्धारका सामग्री व्यवस्थापनजस्ता कार्य भइरहेका बताए ।
नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले विपद्को सामना गर्न वडा तथा नगरस्तरीय विपद् समिति निर्माण गरिएको बताए। “ती समितिलाई प्रशिक्षण, पूर्वतयारीका बारेमा जानकारीलगायत आपत्कालीन अवस्थामा सहयोग गरिरहेका छौँ”, विष्टले भने, “आगामी दिनमा नगरपालिका कार्यविधि बनाएर अघि बढ्नेछ ।”
नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले विपद् व्यवस्थापनमा सामुदायिक वनलाई प्रयोग गर्ने बताए । “नगरपालिकाले वन वातावरण तथा जैविक विविधता संरक्षण गर्नका लागि ऐन बनाइरहेको छ”, नगरप्रमुख रावलले भने, “टीकापुर विपद्को जोखिममा रहेकाले वृक्षरोपण, सुरक्षित उच्च घर निर्माण, विकास र पर्यटनका लागि नगरको ध्यानाकर्षण भएको छ । गुरुयोजना बनाएर अघि बढ्ने तयारीमा छौँ ।”