काठमाडौँ । डडेल्धुरा सदरमकामस्थित क्वारेन्टिनमा एक ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
बालक राति अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए ।
क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने तयारी भएको डडेलधुरा अस्पतालले जनाएको छ ।
शनिबारमात्रै भारतबाट आमाबाबुसँग डडेल्धुरा सदरमुकाम पुगेका बालकको राति नै मृत्यु भएको न्यौपानेले बताएका छन् । आइतबार गाउँ पठाउने गरी शनिबार भारतबाट आएका सबैलाई डडेल्धुरा बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।
उनीहरु गौरीफण्टा नाका हुँदै नेपाल भित्रिएका थिए ।