तनहुँ । तनहुँमा शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टिनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका छ पुरुष र पाँच महिला गरी ११, बन्दिपुरमा तीन पुरुष र एक महिला गरी १५ जना क्वारेन्टिनमा बस्दै आएका थिए । व्यासनगरपालिका– ४ मा शुक्रबार १० जनालाई क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टिनमा बस्नेको सङ्ख्या २५ जना पुगेको हो ।
व्यासनगरपालिका–४ मा डेरा गरी विगत लामो समयदेखि बस्दै आएका १० भारतीय नागरिकलाई क्वारेन्टिनमा राखिएको छ । पोखराबाट आएका साथीहरुसँग बिहीबार घरमा जान भनी बस चढेर हिँडेका उनीहरुलाई भारत र नेपालको बोर्डर भन्टाबारी कोशी ब्यारेजबाट फर्काइदिएपछि पुनः दमौली फर्किएका हुन् । बसबाट झर्नसमेत नदिई त्यही चढेर गएको बसमा हामीलाई दमौलीतर्फ नै फर्काइदिएको पश्चिम बङ्गाल घर भई हाल क्वारेन्टिनमा बस्दै आएका महम्मदधाबी मुल्लाहाले बताए । व्यासनगरपालिकाले सुरक्षित किसिमले राखी दिएको छ । उनले भने, ‘दुई हप्ता बसेपछि पुनः आफ्नै कोठामा फर्किनेछौँ । ’
शुक्रबार बिहान दमौली झरेपछि व्यासनगरपालिका कार्यालयद्वारा उनीहरुको उद्धार गरी व्यासनगरपालिका–४ स्थित मदरसा प्राथमिक विद्यालयमा क्वारेन्टिन स्थापना गरी राखिएको वडाध्यक्ष विश्वराज न्यौपानेले बताए । उनीहरुको खानाका लागि व्यासनगरपालिका कार्यालयबाट व्यवस्था गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उनीहरुलाई उद्धार गरी क्वारेन्टिनमा राखिएको हो उनले भने।
पाँच सय ६३ को आरडिटी परीक्षण
तनहुँमा विभिन्न देशबाट घर फर्किएका ७५४ पुरुष र ८९ महिला गरी ८४३ मध्ये ५६३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए ।
उनका अनुसार व्यासनगरपालिकामा २०२, शुक्लागण्डकीमा १२४, भीमाद नगरपालिकामा ११७, ऋषिङ गाउँपालिकामा १०३, भानुनगरपालिकामा ९०, घिरिङ गाउँपालिकामा ७०, म्याग्दे गाउँपालिकामा ४३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ आँबुखैरेनी गाउँपालिकामा २६ जना गरी ८४३ विदेशबाट घर फर्किएका छन् ।
त्यसैगरी जिल्लामा हालसम्म १८ जनाको स्वाब सङ्कलन गरी पोखरा परीक्षणका लागि पठाइएकामा उनीहरुको पनि नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलिन रोक्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहका वडा वडामा पुगेर उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । हाल जिल्लामा परीक्षणका लागि किट अभाव रहेकाले मगाउने कार्य भइरहेको उनले बताए ।
जिल्लामा १० पालिकामध्ये चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडामा पुगेर विदेशबाट घर फर्किएका व्यक्तिको आरडिटी परीक्षण गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए।
जिल्लामा २५ स्थानमा १८१ श्ययाको क्वारेन्टिन र ४२ श्ययाको आइसोलेशन स्थापना गरिएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य भेटिएको छ । तनहुँको देवघाटस्थित क्वारेन्टिनमा बस्दै आएक एक पुरुष समयावधिसम्म रहँदा उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि घर फर्किसकेका छन् ।
बारीमा काँक्रो कुहिन थालेपछि किसान चिन्तित
तनहुँको बन्दिपुर–५ स्थित याम्पाफाँटका किसानले उत्पादन गरेको काँक्रो बिक्री नभएर खेतबारीमै कुहिन थालेका छन् ।
उत्पादित काँक्रो प्रतिकिलो रु १० मा पनि बिक्री नभएर खेतबारीमा नै कुहिन थालेपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । त्यहाँका करिब २०० किसानले व्यावसायिक रुपमा काँक्रो खेती गर्दै आएका छन् ।
उत्पादित काँक्रो जिल्लाभित्र मात्रै खपत हुन नसकेको र अन्य जिल्लामा लैजान छिमेकी जिल्लाका प्रशासन कार्यालयबाट अनुमति पास नपाएपछि काँक्रो बिक्रीमा समस्या भएको कृषक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ‘मैले ६ रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी लगाएको छु’, उनले भने, ‘करिब डेढ रोपनीमा गरिएको काँक्रो खेतीबाट दैनिक १०० किलोग्राम हाराहारीमा उत्पादन हुन्छ, बिक्री नहुँदा बारीमा नै कुहिन थालेको छ ।’
‘प्रतिकिलो रु १० मा दिँदा पनि बिक्री भएको छैन, दिनमा १५÷२० किलोसम्म गाईवस्तुलाई कुँडो बनाएर खुवाउने गरेको छु’, उनले भने, ‘म जस्ता कृषक यहाँका दुईजनाले दैनिक चार/पाँच सय किलोसम्म काँक्रो कुडोमा खर्च गर्न थालेका छन् ।”
त्यहाँको उत्पादित काँक्रो दमौलीसम्म पु¥याउँदा प्रतिकिलो रु ४० देखि ७० सम्ममा बिक्री गर्ने गरेको छ तर यहाँ कृषककै मूल्यमा दिँदा पनि बिक्री नभएको उनले बताए । घिरौँला, फर्सी, करेला, लौकालगायतका अन्य तरकारी बिक्री भएको छ । उनले भने, ‘अन्य तरकारीको तुलनामा काँक्रो छिटो र धेरै उत्पादन हुँदा बिक्रीका लागि समस्या परेको हो ।’
यहाँ उत्पादित काँक्रो सङ्कलन गरी पोखरा र चितवनलगायत बजारमा पठाउने सोही ठाउँका बरुण भट्टराईले यहाँ दैनिक चार टन काँक्रो उत्पादन भए पनि मुस्किलले दुई टन बिक्री हुने गरेको बताए । काँस्कीका व्यापारीले प्रतिकिलो रु २० मा खेतबारीबाटै काँक्रो लैजाने भने पनि सवारीपासको व्यवस्था नहुँदा बिक्रीका लागि समस्या भएको हो । उनले भने, ‘छिमेकी जिल्ला पोखरासम्म लैजान पाउने हो भने कृषकले पनि उचित मूल्य पाउन सक्ने थिए ।’ केहीले काँक्रो लिन आउने पशुपालक किसानललाई प्रतिकिलो रु पाँचका दरले छिप्पिएको काँक्रो बिक्री गर्ने गरेको उनले बताए ।