अमेरिकामा एकै दिन ८ सय बढीको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमेरिकामा एकै दिन ८ सय बढीको मृत्यु


१९ चैत्र २०७६, बुधबार


वासिङ्टन । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकै दिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकै दिन सबैभन्दा बढी मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधवार बिहानसम्म अमेरिकामा मृतकको सङ्ख्या ३ हजार ८ सय ६७ पुगेको छ।

त्यस्तै सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको सङ्ख्या ६ हजार ४ सय ६१ पुगेको छ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुने र संक्रमितको सङ्ख्या पनि दोब्बरले बढेको छ। बुधवार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको सङ्ख्या करिब ८१ हजार रहेको छ। चीनमा निको हुनेको सङ्ख्या नै करिब ७६ हजार रहेको छ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुने बताएका छन्। मङ्गलवार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी रूपमा सामाजिक दुरी कायम नराखे मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने चेतावनी पनि दिएका हुन्। ‘प्रत्येक अमेरिकी नागरिक आउने कठिन दिनका लागि तयार हुनुपर्छ। आउँदो दुई हप्ता अमेरिकाका लागि निकै पीडादायी र कठिन दिन हुनेछन्।’

त्यस्तै ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरससम्बन्धी सङ्घीय गाइडलाइन पालना नगरे एक लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुन सक्ने चेतावनी दिएकी छिन्।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको सङ्ख्या ८ लाख ५८ एक हजार २७ पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस