कोरोना भाइरसको पहिलो चेतावनी दिने डाक्टरकै मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरोना भाइरसको पहिलो चेतावनी दिने डाक्टरकै मृत्यु


२४ माघ २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस सङ्क्रमणबाटै मृत्यु भएको छ ।

वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको छ । डा. लिको मृत्यु भएको समाचार ग्लोबल टाइम्स, पीपल्स डेली र चीनका अन्य सञ्चारमाध्यमले बिहीवार प्रकाशित गरेका थिए।

उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरू आइरहेका बेला वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै जोगाउन हर सम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरूलाई सार्स जस्तै भाइरसका सङ्क्रमित बिरामीहरू आफूले देखेको र भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१ हजार भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

३४ वर्षीय लीलाई समयमै मानिसहरूलाई सतर्क गराउने काम गरेको भन्दै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘हिरो’को संज्ञा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस