सुशासनको अनुभूति दिलाउँदै झापा जिप्रका « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुशासनको अनुभूति दिलाउँदै झापा जिप्रका


२० मंसिर २०७६, शुक्रबार


भद्रपुर, । झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नका लागि कार्यालयका कर्मचारीले व्यवहार परिवर्तन मात्रै होइन, मोबाइल एप र टोकन मेसिनजस्ता आधुनिक प्रविधिको समेत प्रयोग गरेका छन् ।

कार्यालयको ढोकाबाट प्रवेशदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुग्दासम्ममा हरेक आगन्तुकले जिल्ला प्रशासन कार्यालयको वर्तमान कार्यशैली जनमैत्री अनुभूति गर्नेछन् । सरसफाइयुक्त चिटिक्क कार्यस्थल, कर्मचारीको मैत्रीपूर्ण बोली–व्यवहार, छिटोछरितो सेवा प्रवाह र सूचनाको अत्यधिक पारदर्शिताले प्रशासन कार्यालयले आम नागरिकमा सुशासनको प्रत्याभूति दिलाएको छ ।

अहिले प्रशासन कार्यालयमा व्यापक सुधारको अनुभूति भएको जिल्लाका प्रबुद्ध व्यक्ति हरिचरण बानियाँ बताउँछन् । “प्रतिष्ठान दर्ताका लागि गएको थिएँ, विगतको जस्तो कर्मचारीको ढिलासुस्ती र भोलिवाद भोग्नुपरेन”, उनले प्रशासनमा आएको सुधारको प्रशंसा गर्दै भने, “मेरो मात्र होइन, नागरिकता र राहदानी बनाउन आएका साधारण व्यक्तिको समेत काम फटाफट भएको पाएँ ।”

सेवा प्रदान गर्ने कार्यप्रणालीमा सुधारसँगै प्रशासन कार्यालयलाई सफा र सुन्दर बनाउन बगैँचा र सरसफाइमा ध्यान दिइएको छ । यसको पहिलो झलक सफा र सुन्दर परिसरले नै दिन्छ । कार्यालय परिसरको बगैँचामा रङ्गीबिरङ्गी फूल फुलेका छन् । यसले कार्यालयको सौन्दर्य वृद्धि गरेको छ । सेवाग्राहीले समेत फोहरमैला तोकिएको डस्टबिनमा हाल्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले दुई महिनाअघि झापामा जिम्मेवारी सम्हालेकै दिन ‘सुखी नेपाली र समृद्ध नेपाल’ को सपना साकार पार्न प्रधानमन्त्रीको गृहजिल्लाबाटै सुशासनको उदाहरण प्रस्तुत गर्नुपर्ने उद्घोष गरेका थिए । छोटो अवधिमै प्रशासन कार्यालयले सर्वसाधारणलाई प्रदान गर्ने सेवा र कार्यप्रणालीमा उल्लेख्य परिवर्तन ल्याउन प्रजिअ रानामगर अहिले सफल भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार प्रजिअ रानाले आएकै दिन कार्यालयको सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम, तस्वीर र सम्पर्क नम्बर कार्यालयको ढोकामै ठूलो फ्लेक्सबोर्डमा टाँस्न लगाए भने सेवाग्राहीलाई दुःख दिएको भेटेमा कर्मचारीलाई नछाड्ने कडा निर्देशन दिए । उनले सेवाग्राहीको सुविधाका लागि कर्मचारीको नाम, पद र सम्पर्क नम्बर कार्यालयको हरेक कोठाको ढोकामा टाँस्न लगाएका छन् ।

“अरु कतिपय कार्यालयमा सूचना अधिकारीको व्यवस्था पनि छैन भन्ने थाहा पाएँ”, परिवर्तनको शुरुआत आफ्नै कार्यालयबाट गर्नुको कारण बताउँदै प्रजिअ राना भन्छन्, “तर, आफ्नै कार्यालयमा ‘आहा कति राम्रो १’ भन्ने अवस्था सिर्जना नभएसम्म अरुलाई यस्तो गर, उस्तो गर भन्न सकिँदैन भन्ने मनन गरेरै आन्तरिक सुधारलाई तीव्र बनाएका छौँ ।”

कुचीकारले दिनैपिच्छे कार्यालय बढार्ने काम छँदैछ, प्रशासनका कर्मचारी नै हरेक महिनाको अन्तिम शुक्रबार परिसरको कुनाकाप्चामा झाडु बोकेर फोहर बढार्न आफैँ खटिने गरेका छन् । यो काममा प्रजिअ राना आफैँ पनि लाग्ने गरेका छन् । “प्रजिअ आफैँ कुचो बोकेर सफा गर्न निस्कन्छन्, उनकै प्रेरणामा हामी पनि सरसफाइमा खटिन्छौँ”, प्रशासनको नागरिकता फाँटका कर्मचारी ज्ञानमणि पोखरेल भन्छन्, “हामी जनताका सेवक हौँ भन्ने भावना जागेको छ, करले होइन, स्वेच्छाले झाडु बोकेका हौँ ।”

कार्यालयको ढोकामै नागरिक वडापत्र टाँसिएको छ भने सेवाग्राहीका लागि हेल्पडेस्क र टोकन मेसिन राखिएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा गत कात्तिक ७ गतेदेखि प्रशासन कार्यालयमा टोकन प्रणाली लागू गरिएको हो । टोकनका आधारमा सेवाग्राहीले पालैपालो सेवा पाउने भएकाले भनसुन र घुसपैठको सम्भावना अन्त्य भएको छ ।

सेवाग्राहीले नागरिकता, राहदानी, सङ्घसंस्था दर्तालगायतका काम गर्नका लागि अलग–अलग टोकन लिनुपर्ने व्यवस्था मिलाइएको छ । हेल्पडेस्कमै हुलाक टिकट पाउने व्यवस्था छ । फ्रि वाइफाइ प्रयोग गर्ने र टेलिभिजन हेर्ने सुविधाले सेवाग्राहीले पर्खिनुपर्ने समयको सदुपयोग गर्न पाएका छन् ।

राजश्व बुझाउन परिसरभित्रै सञ्चालनमा रहेको प्रभु बैंकको काउन्टरले सुविधा पुर्‍याएको छ । गत कात्तिक १८ गतेदेखि काउन्टर सञ्चालनमा आएको हो । कार्यालयको माथिल्लो तलामा सेवाग्राहीका लागि पुस्तकालयसमेत खोलिएको छ । यही मङ्सिर १३ गते पुस्तकालय उद्घाटन भएको हो । झापाका अरु कुनै कार्यालयमा पुस्तकालय छैनन् ।

नागरिकको सूचना पाउने हकको सम्मान गर्दै प्रशासन कार्यालयले फेसबुकपेज र एन्ड्रोइड प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिने गरी मोबाइल एप सञ्चालनमा ल्याइसकेको छ । फेसबुकपेजमा गत वर्षदेखि नै प्रशासनबाट भइरहेका सेवा र निर्णय सार्वजनिक गरिँदै आएका छन् भने मङ्सिर १६ गतेदेखि मोबाइल एप सञ्चालनमा ल्याइएको हो ।

कार्यालयमा सेवाग्राहीलाई गरिने व्यवहार अत्यन्त मैत्रीपूर्ण हुने गरेको छ । परिसर र भवनभित्र सेवाग्राहीलाई पिउने पानी, बस्ने कुर्सी र शौचालयको सुविधा उपलब्ध छ । प्रशासनले आफ्ना गतिविधिलाई समेटेर रङ्गीन कागजमा बुलेटिनसमेत प्रकाशित गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी रानाले आफ्नो कार्यालयमा परिवर्तन ल्याइसकेपछि अरु कार्यालयमा त्यस्तै सुधारका लागि ध्यान केन्द्रित गरिने बताएका छन् । “सरकारले हामी कर्मचारीलाई जनताको सेवक बन्नु भनेर तलबभत्ता दिएको हो”, उनी कर्मचारीको दायित्वबारे भन्छन्, “सर्वसाधारण जनताले सरकारी सेवा लिँदा कहीँ कतै पनि दुःख, झमेला र ढिलासुस्ती पाउनुहुँदैन ।” उनले जिल्लास्थित सबै सरकारी कार्यालयको सेवा प्रवाह, कर्मचारीको हाजिरी र सरसफाइबारेमा विशेष टोली बनाएर नियमित अनुगमन गर्न थालेको जानकारी दिएका छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हरेक महिना पुरस्कृत गर्ने र झापा जिल्लालाई सरकारी सेवा प्रवाहको दृष्टिले मुलुककै नमूना बनाउने आफ्नो सोच रहेको प्रजिअ राना बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस