काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का सार्वजनिक गरेका हुन् । गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का १००, १००० र २५०० मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जनाएका छन्। समारोहमा शिख हेरिटेज अफ नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थियो ।
गभर्नर डा. नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाडौं उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताए।
नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्दै गुरु नानक सम्पूर्ण मानवजातिकै गुरुको रूपमा रहेको बताए। संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गरेका थिए ।
काठमाडौं उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ । उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवर्द्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो । नेपालमा शिख समुदायको नेपालजञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास रहेको छ । सो समुदायले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आएका छन् ।