यातायात अवरुद्ध गरेकाले बल प्रयोग : गृहमन्त्री थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यातायात अवरुद्ध गरेकाले बल प्रयोग : गृहमन्त्री थापा


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिदै उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएरपछि छोडिएको बताए । ‘नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायित्व हो, कानून विपरीत बल प्रयोग भए नभएको छानबिनबाट अवगत हुनेछ, प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु’, गृहमन्त्री थापाले भने ।

उनको जवाफपछि प्रश्न गदै सांसद बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशप्रसाद यादवले गृहमन्त्रीको जवाफ तयारी जस्तो देखिएको र छानबिन समिति गठन गरिएको छ छैन स्पष्ट पार्न आग्रह गरे । सरकारको संयमता नदेखिएको उल्लेख गदै उनीहरुले दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ भनी जिज्ञासा राखेका थिए ।

सांसदका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले दोषी देखिने प्रहरी र प्रदर्शनकारी दुवैलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण नहुने उनले बताए । शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन, हस्तक्षेप नगरी संरक्षण नै गर्ने गरिएको गृहमन्त्री थापाले सुनाए ।

प्रतिक्रिया दिनुहोस