जनता आतङ्कित बनाउने समय होइन : अध्यक्ष दाहाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जनता आतङ्कित बनाउने समय होइन : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समय जनतालाई आतङ्कित बनाएर हिँड्ने समय नरहेको बताएका छन् । कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले वार्ता, सहमति र संवादबाटै समस्याको समाधान गर्न सकिने बताए ।

चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उनले भने, ‘अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि होइन २०७६ साल हो । यो समय बम पड्काएर, जनता आतङ्कित बनाएर चन्दा उठाएर हिँड्ने समय होइन ।’ परिस्थितिलाई विचार गरेर वार्ता, सहमति र संवादबाटै जाने वातावरण रहेको उनको भनाइ थियो । कम्युनिष्ट पार्टीकै सरकार र जनताले कम्युनिष्टलाई दुई तिहाइ मत दिएको समयमा यस्ता एकाध घटना गराएर परिवर्तनका कुरा गर्नुभन्दा ठूलो भ्रम अरू केही नहुने उनको बताए ।

अध्यक्ष दाहालले चन्द समूहले पनि सहज वातावरण बनाउन वार्ता, संवादमा आउने र सबै मिलेर देशलाई समाजवाद उन्मुख राज्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘देश विकासतर्फ जाँदै गरेको समयमा संवादमार्फत समस्या समाधान नभए बलिदान र नेपाली जनताको अपमान हुनेछ ।’ आफूले बिप्लवलाई गलत बाटोमा हिँडेको जानकारी गराएको उनको भनाइ थियो ।

उनले अबको १० वर्षमा मुलुकलाई मध्यमस्तरीय विकसित देशमा लैजाने बताए। राष्ट्रिय एकता, सामाजिक न्याय चाहन्छन्, समृद्धि आओस्, राष्ट्रिय स्वाधीनताको कुरालाई ध्यान दिने हो भने सहमतिको विकल्प नरहेको उनको भनाइ थियो । सरकारले ल्याउन लागेको नयाँ बजेटमा निर्वाचनमा गरिएका वाचा बजेटमार्फत आउने र राष्ट्रिय सहमतिमार्फत देशको विकास गर्ने अध्यक्ष दाहालले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष पदमपाणि सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठराज पौडेल, प्रधानाध्यापक रामजीप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस