काठमाडौँ । लगानी सम्मेलन २०७५ आजदेखि काठमाडौँका सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
काठमाडौँको सोल्टी होटेलमा हुने लगानी सम्मेलनमा ४० देशमा उच्चपदस्थ प्रतिनिधिसहित ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन्।
सम्मेलनमा नेपाल सरकाले लगानीकर्ता माझ ५० वटा सरकारी परियोजनाको खाका र १७ वटा निजी क्षेत्रका व्यवसायीका आयोजना विदेशी लगानीकर्तासमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ ।
सम्मेलनमा ६४ करोडदेखि तीन खर्ब ५० अर्ब रुपैयाँसम्मका परियोजना प्रस्तुत गरिने छ । समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठुला परियोजना छनोट गरिएको छ । जसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रूपमा राखिएको छ ।
शुक्रवार र शनिवार काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनमा ३ दर्जनभन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने छन् ।
शुक्रवार बिहान ९ बजे उद्घाटन प्रधानमन्त्री ओलीको विशेष सम्बोधन सहित उद्घाटन हुने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यु थाउङ टुन, विश्व बैङ्कका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।