काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रोकिएको प्याराग्लाइडिङ खेल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। लामो समयदेखि स्थगित रहेको यो साहसिक खेल अब पुनः सुरु हुने भएको हो।
आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय मानिएको प्याराग्लाइडिङ विगतमा दैनिक रूपमा ठूलो संख्यामा सञ्चालन हुँदै आएको थियो। विमानस्थल निर्माणपछि आकाशीय गतिविधिमा प्रतिबन्ध लागेसँगै यो सेवा बन्द भएको थियो।
हाल मौसम अनुकूल बन्दै जानुका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलालगायतका प्राकृतिक दृश्य अवलोकनका लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। यससँगै प्याराग्लाइडिङप्रतिको आकर्षण पनि पुनः बढ्दै गएको देखिएको छ।
नेपाल हवाई खेलकुद संस्थाले दिएको जानकारीअनुसार यही चैत ५ देखि ७ गतेसम्म २१औँ नेपाल खुला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना गरिनेछ। प्रतियोगितालाई खेल पुनः सञ्चालनको औपचारिक प्रारम्भका रूपमा लिइएको छ।
प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी करिब ९० जना खेलाडीले नाम दर्ता गरिसकेका छन्। पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ भने ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।







