काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालका विकास प्रयासमा भारतबाट प्राप्त हुँदै आएको प्राविधिक र आर्थिक सहयोगको भूमिका उल्लेखनीय रहेको बताएका छन्।
भारतीय दूतावासद्वारा आयोजना गरिएको ६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवसको कार्यक्रममा उनले दुई देशबीचको सहकार्यले नेपालमा संस्थागत क्षमता अभिवृद्धि र विकास गतिविधिमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनका अनुसार प्राविधिक ज्ञान र स्रोतको हस्तान्तरणले विकास प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याएको छ।
कार्यक्रममा उनले भारत सरकारले विगतदेखि नै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनहरूमा पनि द्विपक्षीय सहकार्य अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरे।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका सरकारी निकाय, सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रका ३५ हजारभन्दा बढी नेपालीले तालिम प्राप्त गरिसकेको जानकारी गराए। कार्यक्रममा सहभागीहरूले तालिमका अनुभव साटासाट गर्नुका साथै सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो।







