यता टिँ टिँ,
उता टिँ टिँ,
यता पनि प्याँ प्याँ,
उता पनि प्याँ प्याँ,
जताततै टिँ टिँ प्याँ प्याँ,
चाहिएको बेला मात्र हैन,
नचाहिएको बेला पनि,
टिँ टिँ प्याँ प्याँ।
ट्राफिक देख्यो कि,
सबै चुपचाप,आ-आफ्नो लाइनमा।
ट्राफिक उता फर्क्यो,
फेरी उहीँ टिँ टिँ प्याँ प्याँ।
के ट्राफिक देख्दैमा,
बाटो खुल्छ र ?
के हर्न बजाउँदैमा
बाटो ठूलो हुन्छ र ?
के हर्न बजाउनुस्,
अरूलाई थर्काउनुस् भनेर,
बोर्डमा लेखिएको छ र ?
अलि पर ट्राफिक प्रहरीले,
रोक्नुस् भनेपछि,
रोक्नुस् न भन्या।
लाइसेन्स छ ? बिलबुक छ ?
देखाउनुस्,
नागरिक एप छ ?
देखाउनुस्,
हर्न निषेधित क्षेत्रमा हर्न बजाएको,
चिट लिनुस्,
अहो !
पाँच सयको चिट पो।
हो।
पहिलो पटक भएर हो।
अर्को पटक हजार,
अनि पन्ध्र सय हो नि।
हर्न बजाऔँ तर,
घुमाउरो बाटो अनि,
दुर्घटना जोखिम हुने अवस्थामा,
मात्र बजाऔँ।
ट्राफिक प्रहरी देख्नासाथ,
नियम मान्ने,
नत्र आ-आफ्नो तालमा नबजाऔँ।
सडकमा ट्राफिक,
जरिवाना लिन मात्र हैन,
हाम्रै जीवन सुरक्षाका लागि,
बसेका हुन् भन्ने बुझौँ।
सडक सुरक्षा आफ्नो लागि हो,
लेन अनुशासन आफ्ना लागि हो,
न कि ट्राफिक प्रहरीका लागि।
ट्राफिक नियम,
यात्रु र चालक दुवैका लागि हो।
घर, परिवार अनि समाजका लागि हो।
सभ्य नागरिकको परिचयका लागि हो।
ट्राफिकको एक्लो प्रयासले मात्र हैन,
तपाईँ हामी सबैले,
सडक अनुशासन कायम राखौँ।
जुन अनुशासनले
हाम्रो सडक यस्तो होस्,
जहाँ चालकले हैन,
सडकले हर्न बजाओस्।
हाम्रो वातावरण यस्तो होस्,
जहाँ ध्वनी प्रदूषण नहोस्,
ट्राफिक सचेतना अभिवृद्धि अनि,
सडक दुर्घटना न्यूनीकरण होस्।
सडक दुर्घटनाबाट
आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
वातावरण प्रदूषण जोगाऔँ।
ट्राफिक सप्ताह २०८२ को शुभकामना







