बाँके । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुन:स्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।
नेपालगञ्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । चदाराले ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको बताउँदै एक जनालाई पुन:स्थापनाका लागि अन्य संस्थामा पठाइएको उल्लेख गरे ।
संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुन:स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक संघसंस्थाले गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरूक बनाएको बताए ।
उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक संघसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे ।
शान्ति पुन:स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनविरुद्धको अभियानमा सबै एकजुट भएर सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । आफूहरूले सीमित जिल्लामा कार्यक्रममाफैत अभियान सञ्चालन गरिएको भन्दै यसबाट केहीमात्रामा सहयोग पुगेको विश्वास व्यक्त गरिन् । उनले मानव बेचबिखनविरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याइन् ।
उक्त कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, शान्ति पुन:स्थापना केन्द्रका सल्लाहकार युवराज शर्मा, गंगा अधिकारी, गीता थारुलगायत वक्ताले आ-आफ्नो धारणा राखिएकी थिइन् ।
शान्ति पुन:स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







