काठमाडौँ । डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका सार्वजनिक स्थानमा रहेका चौतारीका वरपीपलका रुखहरू कटान गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाएको छ ।
कार्यालयले पोखरामा कोटीहोम लगाउने भन्दै वरपीपलका रुखहरू कटान गरेको आरोपमा कोटीहोम आयोजक मानव सेवा फाउण्डेशन नेपालका प्रबन्धक विष्णु राज गिरीसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको हो ।
गिरीसहित पोखरा-१४ का ताराप्रसाद तिवारी, योगमाया बराल, अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, ज्ञानेन्द्र सार्की र रमेश पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।
कार्यालयले उनीहरुविरुद्ध वन ऐन, २०७६ को दफा ४९ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) बमोजिम सजाय हुन समेतको अभियोग लगाएको छ ।
पोखरा-१४ स्थित शुभमार्ग टोलमा रहेका चौतारीका वर पिपल लगायतका रूखका हाँगाहरू ऐन, नियमावली अनुसार प्रक्रिया नै नपुर्याई आफूखुसी काटेको, कानुन विपरीत सम्झौता गरी समिधा बनाउन कोटिहोमका लागि भनी भरपाई गरी लिने दिने गरेको डिभिजन वन कार्यालयको ठहर छ ।







