काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
व्यवस्थापन संघ नेपालको आज आयोजित पाँचौँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताए । उनले यी उपलब्धिको संस्थागत विकासमा जोड दिए।
अध्यक्ष दाहालले देशको नीति निर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताए । उनले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गरे ।