खोटाङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताएका छन् ।
किरात समुदायको उदमस्थाल खोटाङको तुवाचुङ-जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उनले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताए । “नेपाली काँग्रेसले सधैँ द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधान सभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरू समेटिएका छन्”, उनले भने, “सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ । एकले अर्कालाई सम्मान गरेमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।”
फरक सन्दर्भमा नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले भने, “सुशासन, सहज एवं पारदर्शी रूपमा सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ । जनअपेक्षाअनुसारका धेरै काम गर्न जरुरी छ ।”
जिल्लास्थित पार्टीका कार्यकर्तासँग अन्तरक्रियासमेत गरेका नेता कोइरालाले नेपाली काँग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए । उनले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरू लागिपरेको जानकारी दिए ।