काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अखिल नेपाल महिला संघको नेतृत्वलाई आग्रह गरेका छन् ।
अनेमसंघ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनिका ४० प्रतिशत र ३० वर्ष मुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन् । उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले संघलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगामी रूपमा आफूलाई उभ्याएको स्पष्ट गरे ।
मिसन २०८४ को अभियानमा जुट्न महिला वर्गलाई आव्हान गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमतको पार्टीका रूपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।