काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक(डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा बदर गरिएको छ ।
शुक्रबार दिउँसो गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गर्दै नवनियुक्त डीआईजी ओम बहादुर रानालाई अख्तियारमा पदस्थापन गरिएकोमा केही घण्टापछि उक्त निर्णय उल्टिएको छ ।
प्रहरी अधिकारीहरूको सरुवा नियमित प्रक्रिया भए पनि अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका बेला डीआईजी श्रेष्ठको सरुवाले व्यापक चर्चा पाएको थियो । सोही विवादका बीच सरुवा निर्णय उल्ट्याउँदै श्रेष्ठलाई अख्तियारमै यथावत् राखिएको छ भने रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ ।
गत मङ्सिर १३ गतेको निर्णयअनुसार ओम बहादुर राना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । सरुवा उल्टिएसँगै अख्तियारको नेतृत्वमा श्रेष्ठ कायमै रहनेछन् भने रानाले रानीपोखरीमा नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।
सरुवासँगै नेपाल प्रहरीको प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले एक सूचना जारी गर्दै श्रेष्ठलाई साविकको दरबन्दीमा कायम राखिएको र रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्य गर्ने गरी खटाइएको निर्णय भएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक(डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक(डीआईजी) हिमालयकुमार श्रेष्ठ र ओम बहादुर रानाको सरुवा बदर गरिएको पत्र

प्रहरी महानिरीक्षकको सचिवालयले एक सूचना जारी गर्दै श्रेष्ठलाई साविकको दरबन्दीमा कायम राखिएको र रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्य गर्ने गरी खटाइएको निर्णय
