काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गरेका छन् । अधिकारीको यही जेठ १३ गते ९४ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत आज उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व अधिकारीले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।
स्व अधिकारीप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्लामा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ ।
काँग्रेसको सातौँ महाधिवेशन बि.सं. २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उनी काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुन् । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र संघर्षका क्रममा जेल जीवनसमेत व्यतीत गरेका थिए । उनी काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको पूर्व महासचिवसमेत हुन् ।