कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।
सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए ।
“इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने । सदस्यसचिव घिसिङले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिए ।
परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । “पोखरा रंगशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रंगशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ”, सदस्यसचिवले भने ।
उनले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिए । “प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्ने गरी प्रस्ताव बजेटमा गरिएको छ”, उनले भने ।
सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्ने गरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उनले बताए।
नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिता समयमै कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल हुनुपर्ने उनले बताए ।