काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले दश वर्षपछि आगामी आइतबारदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिए ।
विक्रम संवत् २०७२ को भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुन:निर्माणका क्रममा रहेकाले सञ्चालनमा आउन सकेको थिएन । पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता समेत गरिसकेको छ ।
आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीका बीच सम्पन्न सम्झौताबमोजिम संघले एक वरिष्ठ जीवन रक्षक, एक महिला अनिवार्यसहित तीन जना जीवन रक्षक तथा एक जना पानी प्रशोधन प्राविधिकसहित पाँच जना जनशक्ति उपलब्ध गराउने छ ।