काठमाडौँ । सरकारले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा ७५ प्रतिशत कर छुटको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।
“सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु। नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको छु,” अर्थमन्त्री पौडेलले भने।
यो व्यवस्थाले सूचना प्रविधि क्षेत्रमा निर्यात प्रवर्द्धन गर्न र नेपाली प्राविधिकहरूको विदेशी बजारमा पहुँच वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।