काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन् ।
गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्म सम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए । गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले भने, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल खुसी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौँ ।”
उनले भने, “गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।”
प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।
उनले भने, “गणतन्त्र आउनुअघि देशको विकासका सूचकांकहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकांक कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्र कालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो”
उनले भने, “आजको दिन, हाम्रा लागि विशेष दिन हो । बर्सौँ लामो संघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मेहेनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र-हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ-हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।”