काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो ‘ग्लोबल स्मार्ट प्लस’ एपमा नयाँ सुविधा थपेको छ । अब ग्राहकले यो एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम रकम लोड गर्न सक्नेछन् । यो सुविधाले अन्तर्राष्ट्रिय अनलाइन किनमेल, सदस्यता भुक्तानीलगायतका डिजिटल कारोबारलाई सहज बनाउने बैंकले जनाएको छ ।
भिसा ब्रान्डको यो डलर कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य छ । रियल टाइम लोड सुविधाले ग्राहकलाई बैंक शाखामा गएर रकम लोड गर्ने झन्झटबाट मुक्ति मिल्नेछ । यसले समय र लागत बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सजिलो पहुँच प्रदान गर्नेछ ।
भर्चुअल कार्ड जारी गर्न ५०० रुपैयाँ र वार्षिक नवीकरणका लागि ३०० रुपैयाँ शुल्क लाग्छ, तर एपमार्फत टप-अप गर्दा कुनै शुल्क लाग्दैन । यो कार्डमार्फत वार्षिक अधिकतम ५०० डलरसम्म कारोबार गर्न सकिन्छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट सजिलै अनलाइन आवेदन दिन सक्छन् ।
‘ग्लोबल स्मार्ट प्लस’ एपले खाता व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट र वालेट लोडजस्ता सेवाहरूलाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । यो नयाँ सुविधाले डिजिटल बैंकिङलाई थप आकर्षक बनाउने बैंकको विश्वास छ ।
ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, भारतलगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ र युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।