बारा । क्षतिपूर्ति नपाएको भन्दै किसानहरूले पालिकामा तालाबन्दी गरेका छन् । पीडित किसानहरूले क्षतिपूर्ति नपाएको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । गत वैशाख १४ गते आएको विनाशकारी हावाहुरी र असिना पानीले सिम्रौनगढका सयौँ किसानहरूको बाली नालीमा क्षति पुर्याएको थियो ।
असिना पानीले यहाँका सयौँ किसानको खेतबारी तहसनहस बनाएको छ । किसानहरूले लगाएको तरकारी बाली,मकै बाली र धान बालीमा ठुलो क्षति पुर्याए पनि नगरपालिकाले कुनै राहत नदिएपछि आक्रोशित किसानहरूले तालाबन्दी गरेका हुन। आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने किसान संर्घष समितिका सदस्य राम प्रवेश कुशवाहाले जानकारी दिए ।
हावाहुरी र असिनाले नगरपालिकाको वडा नम्बर १,२,३,६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको थियो । उक्त विषयमा नगरप्रमुख किशोरी प्रसाद कलवारसंग पटक पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको एक पीडित किसानले बताए ।
पालिकामा किसानहरूले तालाबन्दी गरेका कारण सेवा प्रवाहमा समस्या भएको नगरपालिका स्रोतले बताएको छ ।