काठमाडौँँ । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको समन्वयमा आयोजित करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम कार्यालयको सभाहलमा ८५ जनाको उपस्थितिमा सम्पन्न भएको छ।
कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विविध विषयमा जानकारीमूलक प्रस्तुति दिँदै सहभागीहरूका जिज्ञासा सम्बोधन गरे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सेवन्तक कोइराला, परराष्ट्र मन्त्रालयका भेषप्रसाद भुर्तेल, गृह मन्त्रालयका उपसचिव छविलाल पौडेल र नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. सञ्जयप्रसाद मिश्रले विशिष्ट अतिथिको रूपमा शैक्षिक परामर्श व्यवसायीहरूले पालना गर्नुपर्ने कानुनी प्रावधान र पछिल्ला सुधारबारे जानकारी गराए।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनबाट फर्किएका विद्यार्थीहरूको ज्ञानलाई मानव पूँजीको रूपमा उपयोग गर्न सकिने बताए। उनले सेवा निर्यातको प्रकृतिअनुसार मूल्य अभिवृद्धि करमा शून्य दर उपयुक्त हुने र अग्रिम आयकरको दर घटाउनुपर्ने सुझाव प्रस्तुत गरे।
महासंघका अध्यक्ष राजेन्द्र बरालले कार्यक्रम अत्यन्त उपलब्धिमूलक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्न समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे। कर कानून र प्रणालीबारे ज्ञानको अभावले व्यवसायीहरूलाई ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रोक्न यस्ता शिक्षामूलक कार्यक्रम उपयोगी भएको उनको भनाइ थियो। उनले शिक्षा सेवा शुल्क फिर्ता प्रक्रियालाई थप सरलीकृत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष एवं प्रमुख कर अधिकृतले शैक्षिक परामर्श व्यवसायको विस्तारसँगै यस क्षेत्रलाई व्यवस्थित गरी करको दायरामा ल्याउन सार्थक पहल आवश्यक रहेको बताए। उनले विदेशी विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीहरूको राहत र उद्धारका लागि अक्षयकोष स्थापनाको आवश्यकताप्रति समर्थन जनाउँदै यसलाई कार्यान्वयन गर्न सरोकारवालाहरूको प्राथमिकता हुनुपर्ने उल्लेख गरे।
उनले नेपाललाई स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा विदेशी विद्यार्थीहरूका लागि शैक्षिक हब बनाउन सकिने सम्भावना औँल्याए। साथै, शैक्षिक परामर्श व्यवसायमा पारदर्शिता प्रवर्द्धनले राजस्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे।
खुला अन्तर्क्रियामा सहभागीहरूका जिज्ञासा प्रमुख कर अधिकृतले सम्बोधन गरे भने नीतिगत पृष्ठपोषणप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरे। कार्यक्रमको सञ्चालन कर अधिकृत बेदप्रसाद खनालले गरेका थिए।

