काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौँ महानगरपालिका-९ बस्ने सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका-१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार काठमाडौँ नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।