इलाम । पर्यटनको सम्भावना रहेको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरो गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरो गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन ।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरो गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए। स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिक स्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ ।
प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरो गुफा । “चमेरो गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ”, जवेगुले भने, “त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।”
देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरो गुफा राखिएको स्थानीय हिमकुमारी अधिकारीले बताइन् ।
गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ ।
तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रूपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । “यस वर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटेर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ”, अध्यक्ष राईले भने ।
माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरो गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए ।