कायरो । इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा पुर्याइएको छ ।
इजिप्टमा प्रत्येक वर्ष हजारौँ मानिस सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । यी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियमको उल्लंघन र सडकको कमजोर अवस्था रहेका छन् ।
केही वर्षयता इजिप्टले दुर्घटना न्यूनीकरणका लागि नयाँ सडक तथा पुल निर्माण गर्दै पुराना संरचनाहरूको मर्मतसमेत गरिरहेको छ ।