दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेला उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आबद्ध सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताए ।
मुख्यमन्त्री आचार्यले भने, “भावनामा बग्न जरूरी छैन । वार्ताबाट समाधान निस्कन्छ । समस्याको समाधान निकाल्ने प्रयास भइरहेको छ । समस्या तपाईँ हामी मिलेर छलफल गरेर समाधान गर्ने हो । सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।”
व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा राखे ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, मन्त्रालयका प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।