गुल्मी । जिल्लामा एक वर्षपछि आगलागी र मनसुनजन्य विपदबाट पीडित परिवारले राहत पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आगलागी र मनसुनजन्य विपद्अन्तर्गत पहिलो किस्ताको रकम निकासा गरेको हो ।
विपदबाट पीडित परिवारले क्षति भएको एक वर्षपछि मात्र राहत रकम पाउने भएका हुन् । पीडित परिवारले समयमा राहत रकम नपाएका कारण निर्माण सुरु गरेका घर पनि अधुरै थिए । विपदबाट पीडित ३५९ जनाको पहिलो किस्ता निकासा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । गुल्मीमा आगलागी घटनाका ४७ परिवार र मनसुनजन्य विपद्बाट क्षति भएका ३१२ परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा गरिएको हो । उक्त रकम जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाइएको प्रजिअ गौतमले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको हो । जिल्ला विपद् व्यवस्थापन कोषमा तीनै तहबाट जम्मा भएको रकम लाभग्राहीका आधारमा सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मनसुनजन्य विपद्अन्तर्गत राहत पाउनेमा धुर्कोट गाउँपालिकाका १२४, रेसुंगा नगरपालिकाका ७६, काली गण्डकीका ३७, रुरु क्षेत्रका १९, इस्माका १३, चन्द्रकोटका १४, मुसिकोटका आठ, मदानेका तीन, मालिकाका ११, गुल्मीदरबारका चार, छत्रकोटका दुई र सत्यवतीका एक परिवार रहेका छन् ।
त्यसैगरी, आगलागीबाट पीडित इस्माका २९, छत्रकोटका तीन, रेसुंगाका दुई, धुर्कोटका दुई, मालिकाका दुई, काली गण्डकीका दुई, रुरु क्षेत्रका चार, मदानेका दुई र मुसिकोटका एक परिवारका लागि रकम निकासा गरिएको हो । उनीहरूले पहिलो किस्ताबापत जनही रु. ५० हजार पाउने भएका छन् ।
पहिलो किस्ताका लागि केन्द्रबाट रु. एक करोड ६० लाख र प्रदेशबाट रु. ५३ लाख ८५ हजार जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।