पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको बताएका छन् ।
राष्ट्रिय युवासंघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना देखेर उत्साहित नहुन सुझाव दिए ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इंगित उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदै छौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”
“प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास नियन्त्रण गर्न तथा रोक्नका लागि आवश्यक तयारीसहित अग्र भागमा युवा संघ आउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रूपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएनन् । सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना काम-कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”
अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे । आफूहरू भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए ।
युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहरी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।