झापा । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गदै जनप्रतिनिधिसँग सपना, योजना र इमानदारी भए विकासमा कुनै अवरोध नआउने बताए । “हल्दिबारीले यहाँको सर्वांगीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाई दिन्छु”, उनले भने ।
हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताए । यससँगै भुसुडी खोलामा थप दुई वटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सापकोटले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताए । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउँदै उनले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गरे ।
हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुई वटा रु. चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए। आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रु. दुई करोड ३० लाख रहेको छ भने लम्बाइ ४२.७ मिटर र चौडाइ ७।२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो । गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उनले बताए ।
पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छ भने वडा नं ५ र १ का हजारौँ स्थानीयवासी लाभान्वित भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । वर्षायाममा आवतजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।