देउखुरी (दाङ) । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन् ।
कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरूले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए ।
युवाहरूले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्”, उनले भने ।
दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, “अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लाग्नु भएको थियो । उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।”
लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।