बैतडी । हुरी र असिना पानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुई तले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।
उनका अनुसार सिँगास(५ खैरकोट, सल्याली, ढुंगाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका-८ धारीमा एक तले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए ।
हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो । डिलाशैनी–६ बांगाबगरमा रुख ढलेर केही बेर अवरुद्ध भएको राजमार्ग अहिले नियमित सञ्चालन भइरहेको उनले जानकारी दिए ।
असिना पानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका-४ का उमेश भट्टले जानकारी दिए । उनले भने, “एक्कासी आएको असिना पानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ ।” हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए । यसअघि गत चैत अन्तिम साता पनि असिना पानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्याएको थियो ।