काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा प्रकाशित गर्नुपर्ने नतिजा चार सय दिन लगाउने गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनमा त्रिविले नतिजा प्रकाशनमा ढिला गरेको उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा सकिएको एक सय दिनभित्रै नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
‘यो वर्ष सञ्चालित परीक्षाको नतिजा प्रकाशन गर्न २०४ देखि ४०० दिनसम्म लागेको देखियो,’ महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बीबीएस चौथो वर्षको नतिजा २०४ दिनमा, बीए पहिलो वर्षको ३५७ दिनमा, बीएड पहिलो वर्षको ३८९ दिनमा, बीबीए पहिलो वर्षको ४०० दिनमा, बीएड तेस्रो वर्षको ३५० दिनमा, बीबीएस तेस्रो वर्षको ३४६ दिनमा, बीएड दोस्रो वर्षको नतिजा ३१४ दिनमा प्रकाशित भएको छ । यसरी ढिला गरी नतिजा प्रकाशित गर्दा विद्यार्थी मारमा परेका छन् ।