काठमाडौँ । प्रहरीले नक्कली कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयल कीर्ते गरी नक्कली कागजात बनाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोर्खा भिमसेनथापा गाउँपालिका वडा नं १ घर भई काठमाडौँको तार्केश्वर देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ७ घर भई बूढानीलकण्ठ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्दुङ् घर भई चन्द्रागिरि दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् ।
उनीहरूले तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ् स्थितमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी बनाउने गरेको सूचनाको आधारमा बुधबार पक्राउ गरेको हो ।
अनुसन्धानबाट विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु आवश्यकता अनुसार उपलब्ध गराउने गरेको खुलेको छ । जापान लयगतका देशहरूमा वर्किङ भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव पत्र बनाइदिने गरेको थियो ।
साथै, विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड अप्लाई गर्नको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र वीर अस्पताल लगायतको नक्कली मेडिकल रिपोर्ट बनाइ दिने गरेको पाइएको एसपी काजी आर्चायले बताए ।
उनीहरूले भिजिट भिसा प्रयोजनका लागि ‘क’ बर्गका सबै बैंकको नक्कली बैंक स्टेटमेन्ट समेत बनाइ दिने गरेको पाइएको छ ।
प्रहरीले उनीहरूको साथबाट माइग्रेसन सर्टिफिकेट ४२ थान, क्यारेक्टर सर्टिफिटेक ६० एकेडेमिक ट्रान्सक्रिप ११० थान, विवाह दर्ता सर्टिफिकेट ५ थान, प्रोभिजनल सर्टिफिकेट ५० थान, जग्गाधनी दर्ता पुर्जा १० थान, विभिन्न सहकारी संस्थाहरुकोको लेटरप्याड १७ थान, वार्षिक आम्दानीको प्रमाणपत्र ७ थान, लेमिनेशन १, हेचिङ मेसिन २ थान, मेनिटर २ थान, सीपीयु २ थान, किबोर्ड २ थान, प्रिन्टर ३ थान, खाली स्ट्याम्प १५० थान, स्टयाम्प मेसिन १ थान, विभिन्न कम्पनीको मोबाइल ७ थान र विभिन्न मेडिकल अस्पतालको मेडिकल कार्डहरू २ थान बरामद गरेको छ।

