काठमाडौँ । चार हजार भन्दा बढी किसानहरूले कृषि बीमा बापतको रकम पाउन सकेका छैनन् ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले चार हजार ८२७ किसानले कृषि बीमा बापतको दाबी रकम पाउन बाँकी रहेको जनाएको छ ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष १४ बीमा कम्पनीमा ३२ हजार ५६६ बीमालेखबाट रु. १ अर्ब ७० करोड ७ लाख बीमा दाबी भुक्तानी माग भएकोमा अघिल्लो वर्षको बीमादाबी भुक्तानीसमेत ३३ हजार १२८ बीमालेखको दाबीबापत रु. १ अर्ब ५८ करोड ४३ लाख भुक्तानी गरी ४ हजार ८२७ बीमालेखको रु. ३७ करोड ४१ लाख बीमा दाबी भुक्तानी बाँकी रहेको देखिन्छ ।’
कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ मा बीमा जानकारी प्राप्त गरेको दिनदेखि अधिकतम ५७ दिनभित्र बिमकले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, भुक्तानीमा ढिलाइ हुँदा बिमितहरूले समयमै क्षतिपूर्ति नपाउँदा आर्थिक संकट भोग्नुपरेको महालेखाले उल्लेख गरेको छ ।
महालेखाको प्रतिवेदन अनुसार बिमा प्रणालीप्रति विश्वास कम हुँदै गएको तथा बिमाको निरन्तरतामा कमी आएको देखिएको छ । बिमकहरूले समय सीमा पालना गर्ने, बिमा प्राधिकरणले प्रभावकारी नियमन र अनुगमन गर्ने, डिजिटल प्रणालीमार्फत प्रक्रिया सरलीकृत गर्ने एवं बिमादाबी भुक्तानी प्रक्रियाबारे पारदर्शिता कायम गर्न आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।