काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रूप रहेको टिप्पणी गरेकी छिन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहोर्याउँदै उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् । यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने उनले बताइन् ।
‘सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो,’ सांसद गौतमले भनिन्, ‘इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’
उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् ।
‘सर्वपक्षीय आलोचना भए तापनि सरकार गाडी नम्बर ४२० आफ्नै रफ्तारमा चलिरहन्छ भनेझैँ बेप्रवाह दौडिरहेको छ,’ सांसद गौतमले भनिन्, ‘अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता कहीँ बाकी छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् ।’
सांसद गौतमले पछिल्लो समय दैनिक जसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रूपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिई अभियोग पत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
शक्तिको दुरुपयोग आफैँमा संविधान विपरीतको कार्य भएको बताउँदै उनले सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।