काठमाडौँ । नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थामाथि संसद्मा प्रश्न उठेको छ ।
नेपाली काँग्रेसकी सचेतक सुशीला थिङका अनुसार कानुनतः परिवार भन्नाले आमा, बुबा, छोरा, छोरी, पति, पत्नी, बाजे, बजै र सौतेनी आमा पर्दछन् ।
‘बाबु र आमाको मृत्यु भइसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवाहितको कमाइमा बढी कर लगाउँदै आएको छ’, सांसद थिङ असन्तुष्टि व्यक्ति गरिन् । यसमा पुनरावलोकन हुनुपर्ने उनको माग छ ।
‘के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछन् ?’ उनी थप्छिन्, ‘यदि राज्यलाई विभेद गरी कर उठाउन लाज लाग्दैन भने हामी अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार छन् ।’
अन्यथा, राज्यले करमा विवाहित र अविवाहित भनेर करमा गरेको विभेद हटाउनुपर्ने उनको माग छ । ‘अविवाहित र विवाहित भनेर कर उठाउन पाइँदैन । यस्तो विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस्’ उनले माग गरिन् ।