काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सफ्टवेयर र बैंकका कर्मचारीको मिलेमतोमा ३५ लाख ८७ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।
महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ ।
प्रतिवेदनले रकम अपचलन भएको विषयमा प्रतिष्ठानले गठन गरेको छानबिन समितिले नै देखाउँदा पनि आवश्यक कारबाही नगरेको जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ,‘प्रतिष्ठानले आय संकलनका लागि मिडास सफ्टवेयर प्रयोगमा ल्याएको र सफ्टवेयरअनुसार प्राप्त देखिएको रकम बैंक दाखिला नभएको सम्बन्धमा ३ सदस्यीय छानबिन समिति गठन गरेको पाइयो । उक्त समितिको प्रतिवेदनमा सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकको कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको ठहरसहित सफ्टवेयर कम्पनीले ३५ लाख ८७ हजार अपचलन गरेको उल्लेख छ ।’
लेखापरीक्षण प्रतिवेदनबाट उक्त विषय औँल्याइए पश्चात् उक्त रकम बैंकमा दाखिला गरेको प्रमाण पेस गरेता पनि थप छानबिन भने गरिएको छैन ।
प्रचलित कानुन बमोजिम छानबिन गरी आवश्यक कारबाही गर्ने महालेखाले सुझाव दिएको छ ।
प्रतिष्ठानबाट यस वर्षको अस्पताल सेवा सञ्चालनको आय १ अर्ब ३६ करोड २३ लाख ६१ हजार रहेको छ ।