काठमाडौँ । सरकारले व्यापारीलाई एक वर्ष अवधिमा ७९ अर्ब ८७ करोड रुपैयाँ बराबर भन्सार राजस्व छुट दिएको पाइएको छ ।
आव २०८०/८१ मा सरकारले उक्त रकम बराबर भन्सार राजस्व छुट दिएको महालेखा परीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारले आर्थिक ऐनमार्फत यस्तो छुट दिएको पाइएको छ ।
आसिकुडा प्रणाली अनुसार उक्त छुट रकम देखिएको हो । आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ कति छुट दिइयो भन्ने अभिलेख भने राखेको नपाइएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्तो अभिलेख अर्थ मन्त्रालय वा आन्तरिक राजस्व विभागसँग नरहेको पाइएको छ । उता, साफ्टा सुविधा अन्तर्गत मालवस्तु पैठारी गर्दा भन्सार महसुल ४ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर छुट भएको महालेखाले जनाएको छ ।
सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नु अगावै मास्टरलिस्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने र सुविधामा पैठारी भएका मालवस्तु उपयोग सोही आयोजनामा भए/नभएको अनुगमन गर्नुपर्ने प्रावधान महालेखाले स्मरण गराएको छ ।
राजस्व छुटको दायरा बढ्दै गएको भन्दै यसको विश्लेषण गर्न र एकीकृत तथ्यांक संसद्मा पेस गर्नसमेत सुझाव दिएको छ ।